एमालेको राष्ट्रिय महाधिवेशनमा विदेशका १५ जना नेताहरु आउने - दर्पण संसार

एमालेको राष्ट्रिय महाधिवेशनमा विदेशका १५ जना नेताहरु आउने

काठमाडौं । शुक्रवारदेखि सुरु हुने नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा ४ देशका विभिन्न राजनीतिक दलहरू सहभागी हुने भएका छन् ।

एमालेको विदेश मामिला विभागले विहीबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा भारत, बङ्गलादेश, श्रीलङ्का र कम्बोडियाका ८ राजनीतिक दलका १५ जना नेताहरू महाधिवेशनमा पाहुनाका रुपमा सहभागी हुने एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

पत्रकार सम्मेलनमा चीनलगायत अन्य २५ देशका दलहरूले भने शुभकामना सन्देश पठाएको विदेश विभाग प्रमुख भट्टराईले बताए ।

उता, महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहल बढेको छ । एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय सङ्गठनका नेता चितवन आउने क्रम जारी छ ।

महाधिवेशन प्रतिनिधिका लागि सौराहामा शनिबारदेखि मात्रै बस्ने व्यवस्थापन मिलाइएको छ । महाधिवेशनको उद्घाटन समारोह हुने नारायणी नदी किनारमा मञ्चको निर्माण कार्यले तीव्र गति लिइरहेको छ ।

१०औँ राष्ट्रिय महाधिवेशनको लोगोमा अङ्कित गैँडाको मस्कट तयार गरिएको छ । मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टोलीले १० दिन लगाएर गैँडाको मस्कट तयार पारेको हो । चितवन एकसिङ्गे गैँडाका लागि परिचित भएकाले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको एमाले चितवनका अध्यक्ष पार्वती रावलले जानकारी दिए ।

"

प्रतिक्रिया दिनुहोस्