एनआरएनए सल्लाहकार कुल आचार्य गोर्खा आन्दोलनको पक्षमा, तत्काल वार्ताका लागि आब्हान - दर्पण संसार

एनआरएनए सल्लाहकार कुल आचार्य गोर्खा आन्दोलनको पक्षमा, तत्काल वार्ताका लागि आब्हान

लण्डन । गैरआवासीय नेपाली संघका केन्द्रिय सल्लाहकार कुल आचार्यले ब्रिटिश सैनिक सरह सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनरत पूर्व गोर्खाहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

बिहीबार गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले लण्डनको प्रधानमन्त्री कार्यालय नजिकै सन्चालन गरिरहेको आमरण अनसनस्थल पुगेर आचार्यले आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।

आचार्यले बेलायत र नेपालबीचको दुई सय वर्ष पुरानो सम्बन्धलाई थप बलियो बनाउन पनि गोर्खा समस्याको समाधान हुनुपर्ने बताए । उनले त्यसका लागि पहल गरिरहेको पनि स्पष्ट पारे ।

आमरण अनसनमा रहेका प्रतिनिधिहरुसँग कुरा गर्दै आचार्यले कुटनीतिक माध्यमबाट नै यस समस्याको समाधान खोज्न जरुरी रहेको र त्यसका लागि आफूले पहल गरिरहेको जानकारी दिए । ‘मैले बेलायतस्थित नेपाली राजदूत, लोक दर्शन रेग्मीज्यू, सँग यसबारेमा कुरा गरिसकेको छु, नेपाल सरकारसँग पनि यो विषय तत्काल वार्ताको माध्यमबाट सम्बोधन हुनुपर्ने बताइसकेको छु’ आचार्यले भने । आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि समस्याबारे जानकारी गराएको र समाधानको उपायका बारेमा सुझाएको जानकारी दिए ।

आमरण अनशन

“ब्रिटेनको रक्षाका लागि हजारौ गोर्खा सैनिकहरुले आफ्नो ज्यान अर्पण गर्नु भएको छ। अहिले आएर भूतपूर्व गोर्खा सैनिकहरुले हामी माथि अन्याय र भेदभाव भयो भनेर आमरण अनशन गर्नुपर्ने स्थिति आउनु दुखको कुरा हो,’ आचार्यले भने ।

गोर्खा सैनिकहरु दुई देशबीचको सम्बन्धको महत्वपूर्ण पाटो रहेको उल्लेख गर्दै आचार्यले उनीहरुको योगदानको ब्रिटिश सरकारले अवमूल्यन गर्न नसक्ने स्पष्ट पारे । आफूले लामो समयदेखि भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुको समस्या समाधानका लागि पहल गरिरहेको दोहोर्याउँदै अब कुनै पनि हालतमा ढिला नगर्न उनले नेपाल सरकार र बेलायत सरकारलाई आग्रह गरे ।

गैर आवासीय नेपाली संघको नेतृत्व लिने तयारीमा लागेका आचार्यले गोर्खा सैनिकहरुले आन्दोलन गरि रहेको स्थान मा आएर आफुले चुनावी कुरा गर्न नचाहेको स्पष्ट पारे । 'चुनावी कुराले यसलाई प्रभावित गर्दैन,' उनले भने, 'मुख्य कुरा पूर्व गोर्खाहरुले पटक पटक आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्दछु ।

आचार्यले भोक हड्तालमा रहेका सत्याग्रहका निर्देशक ज्ञानराज राई, धन गुरुङ तथा पुष्पा राना घलेको स्वास्थ्य अवस्थाका बारेमा चासो राखेका थिए ।

आचार्यले आन्दोलनमा ऐक्यबद्धता जनाएपछि गोर्खा सत्याग्रह समितिका निर्देशक राईले यो आन्दोलन अन्तिम आन्दोलन भएको भन्दै माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताएका थिए ।

यस अघि एनआरएनए युकेका नवनिर्वाचित अध्यक्ष प्रेम गाहा मगर सहित अन्य पदाधिकारीहरु पनि अनशन स्थल पुगेर सत्याग्रह आन्दोलनप्रति ऐक्यबद्धता जनाएका थिए।

"

प्रतिक्रिया दिनुहोस्