रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन तस्कर सार्वजनिक - दर्पण संसार

रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन तस्कर सार्वजनिक

काठमाडौं । नेपालगन्जबाट प्रहरीले दुर्लभ बन्यजन्तुको अङ्ग तथा छालासहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले आइतबार बिहान पत्रकार सम्मेलन गर्दै बरामद गरिएका एक थान रेडपाण्डाको छाला, ४ वटा भालुको पित्तसहित ३ जना तस्करलाई सार्वजनिक गरेको हो।

बिशेष सूचनाका आधारमा शनिबार राती पौने ९ बजे लुम्बिनी प्रदेश प्रहरी ब्युरोका प्रहरी नायब निरीक्षक बिष्णु गिरीको कमान्डसहित गएको बाँके प्रहरीको संयुक्त टोलीले नेपालगन्ज वडा नम्बर १ स्थित पुष्पलाल चोकमा रहेको राप्ती गेस्ट हाउसबाट बसिरहेको अवस्थामा अङ्ग तथा छालासहित तीन जनालाई पक्राउ गरेको बाँके प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन्।

पक्राउ पर्नेमा दाङ घोराही ४ का ४९ बर्षीय भक्त बहादुर पुन, सोही स्थानमा ४१ बर्षीय केशब बहादुर पुन र शान्तिनगर गाउँपालिका १ का २९ बर्षीय रोबिन बुढा रहेको एसपी अधिकारीले बताए। पक्राउ परेका तिनै जना र बरामद गरिएका अङ्गहरुलाई जिल्ला बन कार्यालय पठाइने एसपी अधिकारीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

पक्राउ परेकालाई बन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार दश लाख रुपैयाँ जरिवाना तथा १५ बर्ष सम्म कैद हुने एसपी अधिकारीले जानकारी दिएका छन् । एसपी अधिकारी बाँके प्रहरीको कमान्ड सम्हालेको छोटो समयमै बन्यजन्तुका अङ्ग तस्करी गर्ने तीन वटा गिरोहलाई पक्राउ गरिसकेका छन्

प्रतिक्रिया दिनुहोस्