एनआरएनए यूकेको चुनावमा ४ उपाध्यक्षहरुले प्रेम गाहा मगरलाई सहयोग गर्ने - दर्पण संसार

एनआरएनए यूकेको चुनावमा ४ उपाध्यक्षहरुले प्रेम गाहा मगरलाई सहयोग गर्ने

लण्डन ।  गैरआवासीय नेपाली संघ एनआरएनए यूकेको नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढीरहेको अवस्थामा वर्तमान कार्यसमितिका ५ उपाध्यक्षहरुले संयुक्त विज्ञप्ती जारी गर्दै यूकेमा रहेका नेपालीहरुलाई एनआरएनएको सदस्यता लिन अनुरोध गरेका छन् ।

एक विज्ञप्ती जारी गर्दै उपाध्यक्षहरु प्रेम गाहा मगर, सुनीलवाबु खड्का, नारायण कँडेल, मोहन कार्की र रामचन्द्र पोखरेलले काम गर्ने दक्ष व्यक्तिलाई नेतृत्वमा पुर्याउने गरी उत्साहजनक रुपमा सदस्यता अभियानमा सहभागिता जनाउन अनुरोध गरेका हुन् ।

‘प्रवासमा रहेका तपाईं हामीसँगै मातृभूमि नेपालको हित, उन्नति र प्रगतिमा निरन्तर क्रियाशील यस संस्थाको सदस्य हुनु हामी सबैको गौरवको विषय हो’, उनीहरुले भनेका छन्, ‘अझै पनि कतिपय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले सदस्यता आवेदन फाराम नभर्नु भएको हामीलाई जानकारी प्राप्त भएको छ । तसर्थ, जतिसक्दो चाँडो आफूँ र आफ्नो परिवारका सदस्य तथा नजिकका साथीभाई र नातेदारहरुको सदस्यता सुनिश्चित गर्नुहुन हाम्रो अनुरोध छ ।’

एनआरएनएले नयाँ कार्यसमिति लक्षित गरी सदस्यता लिन चाहने व्यक्तिहरुको लागि जुन १० गतेसम्मको समय दिएकोमा उपाध्यक्षहरु अधिकतम प्रवासी नेपालीहरुलाई संस्थाभित्र आवद्ध हुन आग्रह गरेका हुन् ।

पढौँ उनीहरुले जारी गरेको अपिल जस्ताको तस्तै:

आदरणीय बेलायतवासी बुवाआमा, दाजुभाई तथा दिदीबहिनीहरु,नमस्कार !

गैर आवासीय नेपाली संघ(एनआरएनए) नेपाल सरकारद्वारा मान्यताप्राप्त एकमात्र प्रवासी नेपालीहरुको साझा संस्था हो । सन् २००३ मा स्थापना भई बेलायतबाट घोषणा भएको यो संस्था अहिले विश्वका ८३ देशहरुमा फैलिएको छ । ‘जहाँ नेपाली त्यहाँ एनआरएनए’ भन्ने अभियान संसारभर पुगेको छ । प्रवासमा रहेका तपाईं हामीसँगै मातृभूमि नेपालको हित, उन्नति र प्रगतिमा निरन्तर क्रियाशील यस संस्थाको सदस्य हुनु हामी सबैको गौरवको विषय हो ।

यसै सन्दर्भमा एनआरएनए, एनसीसी यूकेले सन् २०२१–२०२३ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने हेतुले अहिले बेलायतभर सदस्यता दर्ता अभियान(मेम्बरशिप ड्राइभ) सञ्चालन गरिरहेको यहाँहरु सबैलाई जानकारी नै छ । सदस्यता आवेदनका लागि यही १० जुन २०२१ सम्मको मिति तोकिएको छ । अब यो अवधि ८ दिन मात्रै बाँकी छ । यसबीचमा बेलायतवासी हजारौं नेपालीहरुले आ आफ्नो सदस्यता सुरक्षित गरिसक्नु भएको छ । अझै पनि कतिपय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले सदस्यता आवेदन फाराम नभर्नु भएको हामीलाई जानकारी प्राप्त भएको छ । तसर्थ, जतिसक्दो चाँडो आफूँ र आफ्नो परिवारका सदस्य तथा नजिकका साथीभाई र नातेदारहरुको सदस्यता सुनिश्चित गर्नुहुन हाम्रो अनुरोध छ । जुन १० पछि पनि सदस्यता लिन सकिने भएपनि आगामी निर्वाचनमा उम्मेदवार बन्न र मतदान गर्न जुन १० भित्रै सदस्यता लिइसक्नुपर्ने प्रावधान रहेको पुनः स्मरण गराउन चाहन्छौं ।

यस संस्थालाई अझ फराकिलो र अझ समावेशी बनाउँदै प्रभावकारी रुपमा परिचालन गर्न यस संस्थामा तपाईं हामी सबैको उत्तिकै सहभागिता आवश्यक पर्दछ । एकातिर संस्थालाई अझै बलियो बनाउँदै आम चाहना बमोजिम काम गर्न सक्ने बनाउनु परेको छ भने अर्कातिर संस्थालाई पारदर्शी र विधिसम्मत तरिकाले सञ्चालन गर्नु परेको छ । हामी निरन्तर यस अभियानमा सक्रिय छौं । संस्थालाई सही रुपमा गति दिन सदस्यहरुको साथ, सहभागिता र चासो त महत्वपूर्ण हुन्छ नै, आम सदस्यहरुको चाहना अनुसार संस्थालाई अगाडि बढाउनु नेतृत्वको उत्तिकै दायित्व हुन्छ । आगामी कार्यकालका लागि सक्षम, पारदर्शी र स्वच्छ नेतृत्व चयनका लागि बेलायतवासी आम नेपाली समुदायले साथ दिनुपर्ने आवश्यकता रहेको छ ।

तपाईं हामी सबैको साथ, सहयोग र सहभागिताबाट मात्रै आगामी कार्यकालका लागि सबल र सक्षम नेतृत्व चयन हुने छ भन्ने हाम्रो विश्वास रहेको छ । त्यसका लागि सबैभन्दा पहिले उत्साहजनक रुपमा सदस्यता अभियानमा सहभागिता जनाउनु अपरिहार्य छ । एमआइएस सिस्टम अनुसार आफ्नो सदस्यता आवेदन आफैं अनलाइनबाट गर्न सकिन्छ । त्यस क्रममा कुनै समस्या भए सहयोग गर्न हामी तयार छौं । कुनै सहयोग चाहिएमा एनआरएनए एनसीसी यूकेका सम्पूर्ण पदाधिकारीहरु, सदस्यहरु, राज्य समितिका पदाधिकारी तथा सदस्यहरु तथा एनआरएनएका अग्रज अभियन्ताहरुलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।

तपाईं हामी सबैको सहभागिताबाट मात्र ‘हाम्रो एनआरएनए राम्रो एनआरएनए’ को नारा साकार हुने छ ।

धन्यवाद, नमस्कार

प्रेम गाहा मगर
उपाध्यक्ष (07833507666)

सुनीलवाबु खड्का
उपाध्यक्ष (07786913489)

नारायण कँडेल
उपाध्यक्ष (07786766521)

मोहन कार्की
उपाध्यक्ष (07756959288)

रामचन्द्र पोखरेल
उपाध्यक्ष (07756959288)

"

प्रतिक्रिया दिनुहोस्