चार पूर्वप्रधानन्यायाधीशले मुख खोले: नेपालको संविधान र लोकतन्त्र खतरामा छ - दर्पण संसार

चार पूर्वप्रधानन्यायाधीशले मुख खोले: नेपालको संविधान र लोकतन्त्र खतरामा छ

काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशले संविधान नै समाप्त हुने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । पूर्वप्रधान्यायायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति निकाली प्रतिनिधिसभा विघटन र संविधानको कार्यान्वयन विपरीत दिशातर्फ भइरहेकाले अब संविधान नै समाप्त हुने खतरा बढेको बताएका हुन् ।

पूर्वप्रधान्यायायाधीशहरुले विज्ञप्तिमा भनेका छन्, ‘ कोभिड–१९ को महामारी, जनताको असामान्य र कष्टप्रद दैनिकी सहितको जीवनको माझमा भरपर्दो र नियमित सरकारद्वारा बिभिन्न समस्याहरूको सम्बोधन गर्ने वातावरण निर्माण गर्नुपर्नेमा धारा ७६ को प्रयोगको सम्बन्धमा हाल भएका अभ्यासहरु संविधानको अक्षर र भावना एवं प्रजातन्त्रको मूल मर्म प्रतिकूल भई विपरित दिशातर्फ संविधान कार्यान्वयन भइरहेको आभास हुन्छ । यसले संविधान नै समाप्त हुने खतरा बढेर गएको छ ।’

सरकारले ल्याउन लागेको बजेटमा समेत टिप्पणी गर्दै उनीहरुले, बारम्बार विघटन गरी संसदलाई अकारण दण्डीत गरी अध्यादेशको खोलो बगाई काम चलाउ बजेट मात्र ल्याउनुपर्नेमा पूर्ण बजेट ल्याउन खोज्नु विधिको उपहास भएको समेत उल्लेख गरेका छन् ।

सर्वोच्च अदालतबाट गत २०७७ फागुन ११ गते पुनर्स्थापित भएको प्रतिनिधिसभा फेरि विघटनबाट सर्वोच्च अदालतको फैसलाको मर्म र भावनाको सम्मान नभएको र फैसलाले दिएको परिणाम कसैको स्वार्थको खातिर निरर्थक तुल्याइएको पनि उनीहरुले भनेका छन् ।

कानून प्रभावहीन हुने गम्भीर अवस्था देखिएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘यसबाट कानूनको सर्वोच्चताको सिद्धान्त नमान्ने र कानून प्रभावहीन हुने गम्भीर स्थिति खडा भएको छ । लोकतन्त्रको लागि यस्तो स्थिति खतरनाक हुनसक्छ ।’

प्रधानमन्त्री ओलीको भूमिका प्रति टिप्पणी गर्दै भनिएको छ, ‘विश्वासको मत प्राप्त गर्न पटक–पटक नसकेपछि पनि पदमा निरन्तर रही रहन र विश्वासको मत प्राप्त गरेको वैध सरकारको जस्तो सबै भूमिका खेलिरहन खोज्नु संविधान, प्रजातन्त्र र विवेक कुनै कुराले पनि दिंदैन ।’

अस्थिरता र राजनीतिक द्वन्द्वको नयाँ श्रृङ्खला शुरु हुनबाट रोक्न राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत सबैलाई संविधानप्रतिको निष्ठा र जवाफदेहिता बोध गर्न पनि उनीहरुको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्