सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् ।
वि.स. २०४८ सालदेखि नेकपाले कब्जा जमाउँदै आएको धरानमा यस पटक कांग्रेसले किल्ला तोडेको हो ।
प्राप्त जानकारी अनुसार नेपाली कांग्रेस उम्मेदवार तिलक राईले २६ हजार ७०९ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्धी प्रकाश राईले २३ हजार ९१४ मत प्राप्त गरेका छन् ।
नेकपाका उम्मेदवार प्रकाश राईको पराजयसँगै नेकपालाई ठूलो धक्का लागेको छ ।
शनिबार भएको उपनिर्वाचनको मतदानमा ५५ हजार ११ मत खसेको थियो ।
यसअघि २०७४ मा भएको चुनावमा तत्कालीन एमालेका उम्मेदवार तारा सुब्बा विजयी भएका थिए ।
धरान उपमहानगरपालिका तात्कालीन नेकपा एमालेको परम्परागत गढ मानिन्छ । २०४८ सालयता त्यहाँको मेयरमा कांग्रेसले चुनाव जित्न सकेको थिएन ।
यता, अन्तिम अवस्थामा मत गणना भईरहेको वडा नम्बर ७ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार सुबर्ण मोहन पालिखेले एक मतले पराजित भोग्नु परेको छ ।
उनका निकटतम प्रतिद्वन्द्धी नेकपाका जीवनराज सुवेदीले ६२२ मत ल्याएर विजयी भए । पालिखेले ६२१ मत ल्याएका छन् । उक्त वडाको पुनः मत गणना हुनुपर्ने माग कांग्रेसले राखेको छ ।